
काठमाडौं, कात्तिक १६। राजनीतिक र सामाजिक परिवर्तनका दीर्घ यात्रु सुनिल प्रसाद शाह (एसपी शाह) ले ‘पहिला देश अभियान’ अन्तर्गत ‘जेनेरेसन–जेड’, वित्तीय पीडित, मिटरब्याजी र सहकारी पीडितका माग सम्बोधनका उद्देश्यसहितको आन्दोलन आजदेखि औपचारिक रूपमा सुरु गर्ने घोषणा गरेका छन्।
शाहका अनुसार, यो आन्दोलनले संविधान परिमार्जनसभा गठनमार्फत सबै राजनीतिक दल, जेनेरेसन–जेड पुस्ता र सामाजिक अभियन्तालाई एउटै मञ्चमा ल्याई देशको राजनीतिक दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ।

“अब पुस्ता परिवर्तन मात्र होइन, सोच परिवर्तनको आन्दोलन सुरु हुँदैछ। जेनेरेसन–जेड पुस्ताले देशको भाग्य लेख्ने समय आएको छ,”
— एसपी शाह राजनीतिक यात्राको लामो संघर्ष
बारा जिल्लाको फेटा गाउँपालिका निवासी शाहको जन्म वि.सं. २०४० वैशाख २० गते भएको हो।
राजनीतिक विज्ञानमा स्नातक शाहले आफ्नो संघर्षको यात्रा २०५३ जेठ १५ गते राजा बिरेन्द्रको शासनविरुद्ध पहिलो गिरफ्तारीबाट सुरु गरेका थिए। त्यसपछि उनी रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चामा आबद्ध भए। २०६० सालमा उनी नेपाल फ्रीडम आर्मीका राष्ट्रिय कमाण्डर बने र २०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै गिरफ्तार भए।
भ्रष्टाचारविरुद्धको पहिलो ठूला अभियान ‘जनता दरबार’ (२०६७) का संयोजकका रूपमा उनले २३ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर गरी ऐतिहासिक पहल गरेका थिए। २०६९ सालमा शाहले राष्ट्रिय जन कांग्रेस नेपाल पार्टी गठन गरी संयोजक बने।
लिपुलेक अतिक्रमणविरुद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनका क्रममा उनी पक्राउ परेका थिए। २०७० सालको चुनाव बहिष्कार, त्यसपछिका हिरासत र एकता प्रयासहरू उनका राजनीतिक जीवनका महत्वपूर्ण अध्याय हुन्।
हालको भूमिका र जेन–जेड आन्दोलनमा सहभागिता
२०७९ सालमा शाहले विवेकशील साझा पार्टी र राष्ट्रिय जन कांग्रेस नेपालबीच एकता गराउने पहल गरे र आफ्नै गाउँपालिका फेटामा अध्यक्षदेखि सदस्यसम्मको टोलीलाई जिताउन सफल भए।
तर २०८० साल बैशाखमा उनले नयाँ बाटो रोज्दै ‘पहिला देश’ अभियान सुरु गरे। हाल उनी जेन–जेड आन्दोलनका सल्लाहकारका रूपमा अग्रणी भूमिका सम्हालिरहेका छन्।
शाहका अनुसार, यो आन्दोलन देशको मौलिक हित, आत्मनिर्भरता र स्वाभिमान पुनःस्थापना गर्ने राष्ट्रिय मिशनका रूपमा अघि बढ्नेछ।
“हामी केवल सरकार परिवर्तन होइन, प्रणाली परिवर्तनका लागि सडकमा उत्रिएका हौँ। अब युवाले आफ्नो भविष्य अरूको हातमा होइन, आफ्नै हातले लेख्नेछ,”— एसपी शाह
एसपी शाहको नेतृत्वमा सुरु हुन लागेको “पहिला देश” अभियानले जेन–जेड आन्दोलन र वित्तीय पीडित समुदायका मुद्दाहरूलाई एकसाथ उठाउँदै नेपालको राजनीतिक परिदृश्यमा नयाँ विमर्शको सुरुवात गर्नसक्ने अपेक्षा गरिएको छ।
उनको लामो संघर्ष, साहसिक इतिहास र निरन्तर प्रतिबद्धताले शाह आज पनि परिवर्तनका केन्द्रमा उभिएका पात्रका रूपमा देखिएका छन्।



