
कपिलवस्तु, — कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–१० स्थित विभिन्न घरबाट ठूलो परिमाणमा भन्सार छलि ल्याइएको र लुकाइछिपाइ राखिएको रासायनिक मल प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा शुक्रबार बिहान गरिएको छापामारी कार्यवाहीमा २१६ बोरा डिएपी मल र १० बोरा युरिया मल बरामद गरेको हो।

प्रहरीका अनुसार मिति २०८२ साल कात्तिक १४ गते बिहान ७:१० बजे प्राप्त सूचनाको आधारमा टोली खटिएर वाणगंगा–१० का विभिन्न घरमा खोजतलास गर्दा निम्न स्थानबाट मल बरामद गरिएको होः
सन्तराम थारुको घरबाट — १५८ बोरा डिएपी मल, दशरथ शाहीको घरबाट — २१ बोरा डिएपी मल, सिलाशान्ति कोहारको घरबाट — ३३ बोरा डिएपी मल र सुलेमान मुसलमानको घरबाट — १० बोरा युरिया र ४ बोरा डिएपी मल बरामद गरिएको हो ।
बरामद गरिएको मलहरूको अनुमानित बजार मूल्य अनुसार डिएपी मल (२१६ बोरा, प्रति बोरा रु.२,४००) को जम्मा मूल्य रु.५,१८,४०० र युरिया मल (१० बोरा, प्रति बोरा रु.१,०००) को मूल्य रु.१०,००० रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त मलहरू सुलेमान मुसलमानले सञ्चालन गर्दै आएको ‘सुलेमान हार्डवेयर’ मार्फत भन्सार छलि ल्याइएका हुनसक्ने प्रहरीको अनुमान छ। बरामद गरिएको मललाई इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



