पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते भएको आक्रमण, तोडफोड, आगजनी र हतियार लुटपाट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पक्राउ परेकामध्ये १० जनाको जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ।

उनका अनुसार पक्राउ परेका केही व्यक्ति विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न, कारागार वा प्रहरी हिरासतबाट फरार र मदिरा तथा लागूपदार्थ सेवन गर्ने समूहका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०७९ सालमा अभद्र व्यवहार मुद्दा खेपेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का राजेश मक्रान्ती, र २०६१ सालमा सवारी साधन तोडफोड मुद्दामा संलग्न पोखरा–११ फुलबारीका नारायण साई पनि यस पटक पक्राउ परेका मध्येका हुन्।

यस्तै, प्रहरी कार्यालयमा आगजनी गरी हतियार जलाएको आरोपमा पोखरा–१ मोहोरिया टोलका ४३ वर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका लङबहादुर नेपाली, अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की र पूर्णबहादुर नेपाली पक्राउ परेका छन्।

लङबहादुर नेपाली अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका बेला भदौ २४ गते भागी प्रहरी चौकी नयाँपुल पुगेर तोडफोड, आगजनी र हतियार लुटेर फरार भएको प्रहरीले जनाएको छ।

अपराधिक उपद्रव मुद्दामा अदालतले धरौटीमा रिहा गरेका ८ जनामा अमृत घले, चन्द्रबहादुर गुरूङ, दिपेश शाही, सुरेश गुरूङ, सागर परियार, सागर अधिकारी, राजेश शाही र दिपेश शाह रहेका छन्।

एसपी कार्कीका अनुसार जेनजी आन्दोलनमा घुसपैठ गरी लुटपाट, तोडफोड र आगजनी गर्ने समूह र व्यक्तिहरूको भिडियो लगायतका प्रमाण संकलन गर्दै अनुसन्धान तीव्र पारिएको छ।

‘हामीले पहिलो प्राथमिकतामा लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदीबन्दी तथा हिरासतबाट भागेकाहरूको खोजीलाई राखेका छौं,’ एसपी कार्कीले भने, ‘त्यसपछि अन्य सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाट गर्नेहरूलाई पक्राउ गर्दैछौं।’

भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयसहित मातहतका २७ वटा प्रहरी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको थियो। हालसम्म करिब दुई दर्जन हतियार हराइरहेको प्रहरीको भनाइ छ।

यसैबीच, समाजमा आतंक मच्चाउने र मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी पड्काउने गतिविधि नियन्त्रणका लागि प्रहरीले ‘अप्रेसन ३६५’ सञ्चालन गरेको छ। उक्त अपरेसनअन्तर्गत हालसम्म १३३ वटा मोडिफाई मोटरसाइकल नियन्त्रणमा लिई सामान्य अवस्थामा फर्काइएको, २८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको र १६ जनालाई सम्झाइ–बुझाइ गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय