
भालुबाङ —जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले मंगलबार इलाका प्रहरी कार्यालय, भालुबाङको स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा एसपी श्रेष्ठलाई इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पुष्करसिंह ऐरीले स्वागत गर्दै कार्यालयका गतिविधि, कार्यसम्पादन र प्रमुख चुनौतीहरूबारे ब्रीफिङ गरेका थिए।

एसपी श्रेष्ठले कार्यालय परिसर, व्यारेक, भान्सा, प्रशासन, प्रबन्ध, कार्य, ज्येष्ठ नागरिक शाखा तथा हिरासत कक्षलगायत सबै शाखाहरूको विस्तृत अवलोकन गरेका छन्। उनले प्रहरी कर्मचारीहरूको टर्नआउट, अनुशासन र कार्यप्रतिको प्रतिबद्धता समेत प्रत्यक्षरूपमा मूल्यांकन गरेका थिए।
निरीक्षणपछि एसपी श्रेष्ठले प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रही जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। जघन्य र पेन्डिङ मुद्दाहरूको छिटो र प्रभावकारी फछ्र्यौट गर्न उनले विशेष जोड दिएका छन्।
फरार प्रतिवादी पक्राउमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उनले हिरासतमा रहेका थुनुवाहरूलाई अदालत ल्याउँदा–लैजाँदा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्।
त्यसैगरी, उनले सवारी दुर्घटनाको न्यूनीकरण, नदीजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार, अवैध काठ तस्करी तथा भन्सार छलीजस्ता गैरकानुनी गतिविधिमा कडाइका साथ नियन्त्रण गर्न आदेश दिएका छन्।
आगामी तिहार र छठ पर्वको सन्दर्भमा एसपी श्रेष्ठले पटका, आतसबाजी र विस्फोटक पदार्थहरूको अवैध कारोबारमा निगरानी र नियन्त्रणलाई अझ कडाइका साथ लागू गर्न पनि निर्देशन दिएका छन्।



