
नेपालगञ्ज । अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा छापा हानी ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार छुट्टाछुट्टै टोली बनाएर नेपालगञ्जस्थित मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारिएको हो ।

उनीहरूले जनाए अनुसार ती होटलहरूमा अनैतिक कार्य तथा गतिविधि भइरहेको गुनासो प्राप्त भएपछि प्रहरीको संयोजनमा छापा मारिएको हो । उक्त क्रममा ३१ महिला र १४ पुरुषलाई नियन्त्रणमा लिइएको छ, जसमा आठ जना भारतीय नागरिक पनि रहेका छन् ।
डीएसपी पातलीका अनुसार होटल सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान जारी रहेको छ ।
बॅाके जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जीसीको नेतृत्वमा भएको यो कारवाहीलाई स्थानीयवासीले स्वागत गर्दै प्रशंसा गरेका छन् ।



