बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी वरिष्ठ अधीक्षक (एसपी) अङ्गुर जिसीले कमाण्ड सम्हालेसँगै जुवाडे र तस्करविरुद्ध कठोर अभियान सुरु गरेका छन्। उनको निर्देशनमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत प्रहरीले शनिबार राति ठूलो सफलता हात पारेको छ।

प्रहरीको टोलीले नेपालगञ्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेल्दै गरेका १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही र नेपालगञ्ज–४ का पूर्व वडाध्यक्ष मो. सफिफ बेहना समेत छन्।

एसपी जिसीको “क्लिन अप” अभियान अन्तर्गत गरिएको यो कारबाहीलाई संगठनभित्रै पनि उदाहरणीय रूपमा लिइएको छ। ड्युटी समयमा नै जुवामा संलग्न रहेका वरिष्ठ सईलाई पक्राउ गरेर प्रहरी संगठनमा अनुशासनको सन्देश दिन खोजिएको बताइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन्।

उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र जुवासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

एसपी अङ्गुर जिसीले भने, “अपराध, तस्करी र जुवाजस्तो सामाजिक कुप्रथाविरुद्ध कुनै पनि तह र पदको व्यक्ति संलग्न भए पनि कारबाहीबाट उन्मुक्ति पाउने छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय