काठमाण्डौं — जेनजी आन्दोलनकी अगुवा रक्षा बमले आन्दोलनको क्रममा सार्वजनिक भएको सिंहदरबार अगाडि उभिएको आफ्नो विवादित फोटोको व्याख्या गर्दै, सिंहदरबार जलाउने जोकोही भए पनि अनुसन्धान र कारबाही हुनुपर्ने बताएकी छन्।

बमले बुधबार सार्वजनिक गरेको सन्देशमा उनले भनिन् कि सार्वजनिक रूपमा भाइरल बनेको फोटो सेप्टेम्बर ९ मा खिचेको हो र त्यतिबेला प्रधानमन्त्रीको राजीनामाप्रति प्रतिक्रिया र जितको अनुभूति मिलेर त्यो फोटो पोस्ट गरिएको हो। उनले प्रस्तुत गरेको सन्देशमा फोटोसँगै ‘देखिस् तेरो पतन!’ भन्ने टिप्पणी समेत रहेको छ।

बमले आफ्नो भनाइमा भनिन्, “सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं र त्यसैबेला राजीनामा आएको थियो।” उनले थपिन्, “सिंहदरबार हाम्रो राज्यको प्रतीक भएकाले मैले त्यो फोटो राखेँ — त्यो जितको खुशीको प्रतीक मात्र थियो, त्यसभन्दा बढी केही थिएन।”

यद्यपि उनले जवाफ दिँदै स्पष्ट पारिन् कि सिंहदरबार जलाउने जोसुकै भए पनि त्यसको छानबिन र आवश्यक कारबाही हुनैपर्छ। उनले भनिन्, “सिंहदरबार जलाउनेहरूलाई अनुसन्धान हुनुपर्छ, गोली चलाउनेहरूमाथि पनि अनुसन्धान हुनुपर्छ। हरेक फौजदारी अभियोग लाग्ने कसुरमा सरकारले कारबाही गर्न तत्पर हुनुपर्छ। यदि सुरुवात मबाटै हुनुपर्छ भने म पनि तयार छु।”

रक्षा बमको सो स्पष्टिकरणपछि उनका पक्षमा सरोकारवालाहरूले समर्थन र प्रशंसा व्यक्त गरेका छन् भने राजनीतिक र सामाजिक सञ्जालमा यसबारे विवादीय चर्चा जारी छ। घटनाको सत्यतथ्य पुष्टि र जिम्मेवारको पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको सामाजिक तथा राजनीतिक विश्लेषकहरूले निश्कर्ष दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय