
काठमाडौं । प्रहरीले नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रु र सवारी चालकलाई तत्कालका लागि यात्रा नगर्न आग्रह गरेको छ।
काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै यात्रुहरूलाई अगाडि नबढ्न अनुरोध गरिरहेका छन्। उनीहरूले धादिङतर्फ जाने सवारी साधनलाई काठमाडौंमै फर्किएर सुरक्षित रहन आग्रह गरेका छन्।

नागढुंगा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक किरण थापाले माइकिङमार्फत भनेका छन्, “धादिङका विभिन्न ठाउँमा पहिरो आएको र तत्काल सडक खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक तथा सहचालक महानुभावहरूलाई अनुरोध गर्दछौं — यहाँबाट अगाडि पठाउन सकिँदैन, कृपया सुरक्षित रूपमा काठमाडौं फर्किनुहोस्।”
धादिङ र तनहुँ क्षेत्रमा समेत जोखिमयुक्त सडक खण्डमा अहिले साँझ ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ।
प्रहरीले पहिरो हटाउने र सडक सुचारु गर्ने कार्य तीव्र गतिमा भइरहेको जनाए पनि अहिलेका लागि अनावश्यक यात्रा स्थगित गर्न आग्रह गरेको छ।



