काठमाडौं । जेन–जीको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई नेपाल सरकारको तर्फबाट १५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ।

महानगरीय प्रहरी परिसर कोटेश्वरमा कार्यरत कास्कीको रुपा गाउँपालिका–५, राम्दी निवासी गुरुङको पत्नी कान्ति गुरुङलाई आइतबार बैंक खातामार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

यस अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहित जिल्ला सुरक्षा समितिका सदस्यहरू मृतक गुरुङको घरमा पुगेर परिवारलाई भेटी सान्त्वना दिएका थिए।

३१ वर्षीय अमृत गुरुङ ०७० सालमा नेपाल प्रहरीमा भर्ती भएका थिए। प्रदर्शनका क्रममा घाइते भई उपचारकै क्रममा २५ भदौमा उनको मृत्यु भएको थियो। गुरुङले पत्नी, पिता र २२ महिनाका एक छोरा छाडेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय