
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आज संयुक्त रुपमा ट्राफिक वाल्क कार्यक्रम आयोजना गरेका छन् ।
चाडपर्वलाई लक्षित गरी सुरक्षा र ट्राफिक सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेर जनतालाई सचेत गराएका थिए ।

र्याली काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्। सभ्य समाज निर्माणका लागि सचेत र जिम्मेवार यात्रु तथा चालक दुवै आवश्यक रहेको उल्लेख गर्दै उनले आजको कार्यक्रम त्यस दिशामा प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले संवेदनशील अवस्थामा पनि चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम आयोजना हुनु समाजका लागि सकारात्मक सन्देश भएको बताए। उनले चाडपर्वको नाममा मादक पदार्थ सेवन, तीव्रगतिमा सवारी चलाउने तथा लागूपदार्थ प्रयोग गर्ने क्रियाकलापले जीवन र समाज दुवैलाई जोखिममा पार्ने भएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने धारणा राखे।
यसै अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले हालको चुनौतीपूर्ण अवस्थामाझ ट्राफिक प्रहरीले विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको जानकारी दिए। उनले सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि प्रहरी बल प्रतिबद्ध रहेको स्पष्ट पार्दै चाडपर्वका बेला थप सतर्कता अपनाइने बताए।
बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपत्यकाभित्र सडक सुरक्षा, दुर्घटना नियन्त्रण र जनचेतनामूलक अभियान निरन्तर सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।




