
सुरक्षा सरोकार । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकले प्रहरीप्रति प्रकट गरेको असाधारण समर्थन र समर्पणलाई “इतिहासमै अभूतपूर्व” भन्दै यसलाई प्रहरी संगठनका लागि प्रेरणाको महान् स्रोत भएको बताएका छन्।
उहाँका अनुसार नागरिकहरूले आफ्ना निजी घर र जग्गा त्यागेर प्रहरी भवन निर्माणमा देखाएको सक्रिय सहभागिता केवल इँटा–ढुंगाको सहयोग मात्र नभई प्रहरीप्रति व्यक्त गरिएको गहिरो विश्वास र निस्वार्थ मायाको प्रतिविम्ब हो।

एआइजी कार्कीले भन्नुभयो, “नागरिकले गरेको यस्तो त्याग हाम्रो लागि केवल कृतज्ञतामा सीमित हुने कुरा होइन। यसले प्रहरीलाई आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार, अझ कर्मठ र अझ खरो भएर सेवाभावमा खटिन प्रेरित गरेको छ। यो हाम्रो आत्मालाई जागृत गर्ने ऊर्जाको स्रोत हो।”
उहाँले प्रहरी कर्मचारीहरूलाई पनि यही भावना आत्मसात् गर्न आह्वान गर्दै थपे, “अब हाम्रो जिम्मेवारी अझ बढेको छ। अनुशासन, आत्मसमर्पण र सेवाभावलाई आत्मसात् गरेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, न्याय र नागरिक हितका लागि प्रहरी कर्मचारीहरू उदात्त भावले खटिनुहुनेछ भन्नेमा विश्वास लिएको छु।”
एआइजी कार्कीले नागरिकको योगदान केवल संरचना निर्माणका लागि नभई प्रहरी–नागरिक सम्बन्धलाई अझ बलियो बनाउन मार्गदर्शक शक्ति बनेको उल्लेख गरे। उहाँले भने, “नागरिकको माया हाम्रो ढाल हो, विश्वास हाम्रो शक्ति हो। यही प्रेरणाले हामीलाई सत्कर्ममा अडिग रहन र राष्ट्र सेवामा अविचलित भएर अघि बढ्न सदा उत्साहित बनाइरहन्छ।”



