
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते उपत्यकाका विभिन्न प्रहरी कार्यालय तथा सरकारी कार्यालयमा व्यापक तोडफोड र लुटपाट भए पनि दक्षिण ललितपुरस्थित भट्टेडाँडा प्रहरी कार्यालय सुरक्षित रह्यो।
उक्त समयमा पटक–पटक भएको आक्रमण प्रयासका बाबजुद प्रहरी निरीक्षक अरुण सुवेदीको साहस, नेतृत्व क्षमता र चातुर्यका कारण उनले आफ्नो कार्यालय मात्र नभई बाग्मती गाउँपालिका र वडा कार्यालयलाई समेत क्षति हुन दिएनन्। सुरक्षित हुन नसक्ने अवस्था देखिएपछि कार्यालय छाडेर जान सकिने निर्देशन भए पनि सुवेदीले आफ्नो टोलीसहित डटेर सुरक्षा योजनाअनुसार जिम्मेवारी निर्वाह गरेका थिए।

त्यसक्रममा स्थानियवासीको सहयोग र प्रहरी टोलीको समयमै सूचना संकलन तथा योजनाबद्ध रणनीतिले घटनास्थललाई सुरक्षित बनाउन निर्णायक भूमिका खेलेको बताइन्छ।
उनको यो योगदानको कदर गर्दै बाग्मती गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गरी प्रहरी निरीक्षक अरुण सुवेदीलाई सम्मानपत्र प्रदान गरेको हो।



