
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्न मन्त्रीका रूपमा सिफारिस गरेकी छन्। सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व दिने तयारी छ।
प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम पनि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख रहिसकेका छन् र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।

अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रीका रूपमा सिफारिस गरिएको छ। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहँदा डा. मिश्राले स्वास्थ्य मन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन्।



