
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घरमा आगजनी भएको छ।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको रातोपुलस्थित घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापास्थित घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारास्थित घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषास्थित घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौँस्थित डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनस्थित दुई घर जलाइएको उल्लेख छ।

त्यस्तै आन्दोलनकारीहरूले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाका घर पनि जलाएका छन्।
यसैगरी, पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको घरसमेत आगजनीमा परेका छन्।
पार्टीका बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि जेनजी आन्दोलनको क्रममा जलेको विवरणमा उल्लेख छ।



