
सुरक्षा सरोकार । जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको पुष्टि भएको छ। प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरका प्रहरी युनिटबाट हतियार लुटपाट गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरी लुटिएका हतियारहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ। यस समितिले अन्वेषण योजना तथा विकास निर्देशनालयका सहकार्यमा सबै रिपोर्ट र विवरण सङ्कलन गर्ने कार्यभार पाएको छ।

आईजीपीले रिपोर्टिङ गर्दै उल्लेख गरेका छन् कि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटबाट लुटपाट र आगजनीका कारण करिब ११ सय थान हतियार हराएको तथ्य पुष्टि भएको छ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा यस तथ्यलाई औपचारिक रूपमा उल्लेख गरेका थिए।
प्रहरी स्रोतका अनुसार प्रदर्शनमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका विभिन्न प्रकारका हतियार लुटिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूबाट समेत ठूलो सङ्ख्यामा हतियार हराएको तथ्य पुष्टि भएको छ।



