
सुरक्षा सरोकार — नेपालको राजनीतिक आन्दोलन र विद्रोहहरूमा देखिने एउटा परम्परा छ—आन्दोलनकारी मारिए भने उनीहरूलाई “सहिद” घोषणा गरिन्छ। तर, सोही आन्दोलन नियन्त्रण गर्ने क्रममा आफ्नो ज्यान आहुति दिने प्रहरीलाई भने “अमर प्रहरी” मात्र भनिन्छ। यो विभेदपूर्ण व्यवहार न त न्यायसंगत छ, न त शहीदको वास्तविक मूल्यसँग मेल खान्छ। सहिद घोषणा गर्नुपर्ने आवश्यकता भए न्यायपूर्ण व्यवहार जसमा ज्यान गुमाउने प्रहरीलाई पनि आन्दोलनकारीकै जस्तो सम्मान दिनुपर्छ।
प्रहरीको शहादत पनि जनताको सुरक्षाका लागि

प्रहरी केवल सरकारको आदेश पालना गर्ने निकाय होइनन्। उनीहरूको मुख्य कर्तव्य जनताको ज्यान र सम्पत्ति सुरक्षित गर्नु, शान्ति–सुरक्षा कायम गर्नु हो। आन्दोलन जस्तो संवेदनशील परिस्थितिमा प्रहरी अग्रपंक्तिमा खटिन्छन्। जब उनीहरूले जनताको सुरक्षाका खातिर आफ्नै प्राण गुमाउँछन्, त्यो शहादत हो—सरकारको मात्र होइन, राष्ट्रकै सुरक्षा र स्थायित्वका लागि।
सहिद शब्दको दुरुपयोग
“सहिद” भन्ने शब्द राष्ट्र र जनताको हितका लागि जीवन आहुति दिने व्यक्तिलाई प्रयोग गरिनुपर्छ। तर नेपालमा यो शब्द प्रायः राजनीतिक लाभका लागि प्रयोग हुने परम्परा बनिसकेको छ। जसले ढुंगा हानेर, सरकारी संरचना जलाएर वा हिंसात्मक कार्यका क्रममा प्राण गुमाउँछ, उनी सहजै सहिद घोषित हुन्छन्। तर, त्यही भिड नियन्त्रण गर्ने क्रममा ज्यान गुमाउने प्रहरीलाई सहिद भनिँदैन। यसरी हेर्दा सहिद शब्दलाई “राजनीतिक हैसियत” अनुसार वितरण गरिने चलन छ, जुन नितान्त गलत हो।
प्रहरी र आन्दोलनकारीबीचको विभेद अन्त्य गर्नुपर्छ
देशका लागि प्राण आहुति दिने प्रहरी र आन्दोलनकारीबीच भिन्नता गरेर सम्मान दिनु नै अन्याय हो। प्रहरी नहुने हो भने आन्दोलन नियन्त्रणबाहिर जान्छ, अराजकता मच्चिन्छ र जनजीवन अस्तव्यस्त हुन्छ। यस्तो अवस्थामा प्रहरीको योगदानलाई उपेक्षा गर्नु राष्ट्रकै सुरक्षालाई कमजोर पार्ने जस्तै हो।
आन्दोलनकारी मरे सहिद, प्रहरी मरे अमर प्रहरी भनेर भन्ने गरिन्छ —यो परम्परा एकदमै विभेदपूर्ण छ। सहिद भन्नाले देश, जनता वा कुनै महान उद्देश्यका लागि जीवन आहुति दिने व्यक्तिलाई जनाइन्छ , भने अमर भन्नाले शरीरले मृत्यु भोगे पनि नाम, योगदान वा सम्झनामा सधैं जीवित रहने व्यक्तिलाई जनाइन्छ।
राष्ट्रका लागि जीवन आहुति दिने प्रहरीलाई पनि सहिदको दर्जा दिनु न्यायसंगत मात्र होइन, राष्ट्रिय गौरवको कुरा हो। सहिदको सम्मान राजनीतिक हैसियतअनुसार होइन, योगदानअनुसार हुनुपर्छ। त्यसैले अब समय आएको छ कि प्रहरीलाई पनि बराबरी सम्मान दिई सहिद घोषणा गर्ने परिपाटी सुरु गरियोस्।



