
काठमाडौं — राष्ट्रिय अनुसन्धान विभाग (NID) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा तीन वर्षे सेवा अवधि पूरा गरी भदौको अन्तिम साता अनिवार्य अवकाशमा जाने भएका छन्। विभागको नियमावलीअनुसार मुख्य अनुसन्धान निर्देशकको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ। यसै आधारमा थापा भदौ २८ गतेदेखि अवकाशमा जाँदै छन्।
२०७९ भदौ २८ मा विभाग प्रमुखमा नियुक्त भएका थापाले २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए। त्यही ब्याचका उनका सहकर्मी टेकेन्द्र कार्की र ओम प्रकाश जोशी यसपटक विभागीय प्रमुखका मुख्य दावेदारका रूपमा अगाडि आएका छन्।

कार्की हाल प्रदेश समन्वय विभाग र इन्टेलिजेन्स शाखाको नेतृत्व गरिरहेका छन् भने जोशी प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन्। विभाग प्रवेशदेखि नै थापासँगै रहेका यी दुवै अधिकारीलाई सम्भावित उत्तराधिकारी मानिएको छ।
राष्ट्रिय अनुसन्धान विभागको संरचना मुलुकभर फैलिएको छ। सिंहदरबार परिसरमा केन्द्रीय कार्यालय (हेडक्वार्टर) रहेको विभागमा २ हजार २६५ कर्मचारी तथा एजेन्टहरू कार्यरत छन्। जिल्ला इन्चार्जदेखि विभागीय एजेन्टहरूले स्थानीय तथा राष्ट्रिय स्तरका संवेदनशील सूचनाहरू संकलन गरी विभागलाई उपलब्ध गराउने जिम्मेवारी पाएका छन्।



