बागलुङ — प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय गल्कोटका प्रमुख देवराज काफ्लेको पहलमा गल्कोट नगरपालिका–५ हरिचौरमा दुर्गा भगवती मन्दिर निर्माण गरिएको छ । मन्दिर इलाका प्रहरी कार्यालय र आम जनसहयोगको संयुक्त लगानीमा बनेको हो ।

हिजो एक विशेष कार्यक्रममा जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीले नवनिर्मित मन्दिरको उद्घाटन गरे । उद्घाटनपछि न्यायाधीश अधिकारीले धार्मिक स्थलको निर्माणले सामाजिक, सांस्कृतिक तथा धार्मिक भावनाको संरक्षणसँगै समाजमा एकताको भावना मजबुत बनाउन टेवा पुर्‍याउने बताए । उनले प्रहरी कार्यालयमै मन्दिर निर्माण हुनु भनेको सुरक्षाकर्मी र समाजबीच आत्मीय सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै “धर्मले दिने नैतिक शक्ति र सुरक्षाकर्मीको प्रतिवद्धता मिलेर समाजमा शान्ति–सुरक्षा मजबुत बनाउन मद्दत पुग्छ,” भने ।

गल्कोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल निउरेले मन्दिर निर्माण कार्यमा योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै धार्मिक स्थल केवल आस्थाको प्रतीक मात्र नभई पहिचान र सांस्कृतिक धरोहरको जगेर्नामा समेत महत्वपूर्ण हुने बताए । उनले शान्ति र सुरक्षा कायम भएपछि मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दुर्गा भगवती मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनवादी गायक जीवन शर्माले सांगीतिक प्रस्तुति दिएका थिए । साथै, राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष टंकबहादुर केसी, वडा नम्बर ६ का वडा अध्यक्ष रामप्रसाद कडेल, गल्कोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्रप्रसाद गौतम, शहीद थिरबम मल्ल फाउण्डेशनका अध्यक्ष मञ्जेश बम मल्ललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष काफ्लेले दुर्गा भगवती मन्दिरलाई प्रहरी र समुदायबीचको “मायाको प्रतीक” भएको उल्लेख गर्दै भने, “जनसमुदाय र प्रहरी मिलेर जे पनि गर्न सकिन्छ भन्ने उदाहरण यही मन्दिर हो । यो कार्यमा साथ दिनुहुने सम्पूर्णलाई हृदयदेखि सम्मान गर्दछु ।”

सहायक प्रहरी नायव निरीक्षक मनबहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए भने प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

नवनिर्मित दुर्गा भगवती मन्दिरले आसन्न बडा दशैंका अवसरमा श्रद्धालु भक्तजनलाई दर्शन तथा पूजा आराधनामा सहजता पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय