
सुरक्षा सरोकार — प्रहरी प्रधान कार्यालय (नक्साल)को १ नम्बर गणमा कार्यरत प्रहरी निरीक्षक दिनेश गुरुङ गत मंगलबार (भदौ ३)देखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । डिभोर्स भइसकेकी पत्नीको उजुरीका आधारमा उनलाई जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाइएको हो ।
सामान्यतया महिलाले पुरुषमाथि आरोप लगाउँदा त्यस्ता मुद्दालाई गम्भीर रूपमा लिने र तत्काल कारवाही प्रक्रिया अघि बढाइने प्रचलन छ । यसलाई सिद्धान्ततः सकारात्मक मानिन्छ, किनकि नेपाली समाजमा महिलामाथि घरेलु हिंसा र थिचोमिचो अझै पनि ठूलो समस्या हो । तर पछिल्लो समयमा भने कतिपय घटनामा वास्तविकताभन्दा बढी अतिरञ्जना गरी प्रस्तुत गर्ने प्रवृत्ति बढेको समाजशास्त्रीहरू बताउँछन् ।

इन्सपेक्टर गुरुङको घटनामा पनि यस्तै भएको देखिन्छ । उनलाई नजिकबाट चिनेका व्यक्तिहरूका अनुसार गुरुङ नै विगतदेखि पूर्वपत्नीबाट पीडित रहँदै आएका छन् । डिभोर्सपछि पनि भेटघाटका क्रममा हातपात गर्ने, मौका मिल्दा बदनाम गर्ने र विभिन्न षड्यन्त्र गरी करिअर नै समाप्त पार्ने प्रयास भएको उनीहरू बताउँछन् । यसपटक पनि सुनियोजित रूपमा पूर्वपत्नीले गम्भीर आरोप लगाएर उनलाई हिरासतमा पुऱ्याएको आरोप परिवारले लगाएको छ ।
भरपर्दो स्रोतका अनुसार गुरुङकी पूर्वपत्नी माओवादी पार्टीसँग निकट सम्बन्धित छिन् र राजनीतिक पहुँचको प्रयोग गरी घटनालाई बढी प्रचार गरिएको हो । यसअघि पनि उनले गुरुङ कार्यरत १ नं. गणमै पुगेर डिएसपी र दुई निरीक्षकको सामुन्ने पूर्वपतीलाई हातपात गरेको घटना चर्चामा आएको थियो ।
गुरुङको भनाइअनुसार पछिल्लो विवाद छोरीलाई भेट्न गएको बेला सुरु भएको हो । उनले फेसबुकमा लेखेका छन्–
“छोरीलाई घरसम्म पुऱ्याउन गएको बेला पूर्वपत्नीले झम्टिएर कुटपिट गरिन् । बाहिर निस्कन नसक्ने भएपछि आफूलाई बचाउन एक झापड हिर्काएको हुँ । सम्बन्धबिच्छेदपछि यो दोस्रो पटक हो, जब उनले ममाथि हातपात गरेकी छन् । तर अहिले तथ्यलाई बङ्ग्याएर ममाथि अन्यायपूर्ण आरोप लगाइएको छ । जीवनमा षड्यन्त्रले सम्पूर्ण भविष्य रोक्दैन, म फेरि अगाडि बढ्नेछु ।”
गुरुङका निकट व्यक्तिहरूको भनाइमा, व्यक्तिगत वैमनस्य र बदला लिने प्रवृत्तिले एक होनहार प्रहरी अधिकृतको करिअरमाथि अनावश्यक खेलबाड गरिएको छ । घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग बढ्दो छ ।



