
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ का लागि गृह सचिव, संगठन प्रमुख, महाशाखा तथा विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणलाई मन्त्रालयको प्रमुख चुनौतीका रूपमा औंल्याए।
गृहमन्त्री लेखकले यी क्षेत्रमा विगत वर्षदेखि विशेष रूपमा काम भए पनि ठोस परिणाम आउन समय लाग्ने बताएका छन्। “यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ,” उनले भने।

त्यसैगरी उनले पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्न निर्देशन दिए। गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनअनुसार गृहमन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति उनले बधाई तथा धन्यवाद ज्ञापन गरे।
“अहिलेको आवश्यकता अनुसार नयाँ नीति र योजना तयार गरेर अघि बढ्नुस्,” मन्त्री लेखकले भने, “सीमित स्रोत, साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ।” कार्यसम्पादन सामूहिक जिम्मेवारी भएको भन्दै उनले जस वा अपजस सामूहिक रूपमा लिनुपर्नेमा जोड दिए।
मन्त्रालयको नेतृत्व सम्हाल्दै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अघि बढाइएको तर प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको उनले स्मरण गरे। “पाइपलाइनमा रहेका कानुन विधेयक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अघि बढाउनुस्,” मन्त्री लेखकले भने, “मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकता हो।”



