काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै संघीय राजधानीमा अपराधको स्वरूपमा ठूलो परिवर्तन आएको जनाएको छ।

बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार परम्परागत अपराधको दर यथावत रहँदा वित्तीय र साइबर अपराधको दर तीव्र रूपमा बढेको पाइएको छ। विशेषगरी बैंकिङ कसुरका घटनामा आएको वृद्धि काठमाडौंको आपराधिक गतिविधि बदलिँदो र जटिल बन्दै गएको स्पष्ट देखिएको छ।

परिसर प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार गत आर्थिक वर्षमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा १२ हजार ९१५ उजुरी दर्ता भएका थिए, जसमा ६ हजार ५५३ मुद्दा मात्र बैंकिङ कसुरसँग सम्बन्धित छन्। त्यसपछि अभद्र व्यवहार (१,९५३), चोरी (९५१) र ठगी (७४५) प्रमुख घटनामा परेका छन्। औसतमा दैनिक ३५ वटा अपराध दर्ता हुने गरेको प्रहरीले जनाएको छ।

वित्तीय अपराधमा लघुवित्त तथा सहकारी ठगी, मिटरब्याज, हुण्डी कारोबार र साइबर अपराधमा सामाजिक सञ्जालबाट हुने अपराध, क्रिप्टोकरेन्सी, अनलाइन जुवा, ‘हनी ट्रयाप’ र चरित्रहत्या प्रमुख रूपमा देखिएका छन्। संगठित ठगीमा वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीका नाममा हुने ठगी र सुन तथा बहुमूल्य पत्थरको तस्करीजस्ता घटना उल्लेखनीय छन्।

लागूऔषधको पहिलोपटक सेवन गर्ने मध्ये ४८.९ प्रतिशत १५–१९ वर्षका किशोर–किशोरी भएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

गत वर्ष १ हजार १८ विरोध प्रदर्शन, धर्ना र र्‍यालीको व्यवस्थापनमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन भएको थियो। विशेषगरी, समाजवादी मोर्चा र दुर्गा प्रसाईं समूहबीच तीनकुनेमा भएको हिंसात्मक झडप, जसमा २ जनाको मृत्यु भएको थियो, वर्षकै सबैभन्दा दुःखद घटना भएको प्रहरीको भनाइ छ।

हाल परिसरमा ४ हजार १६ दरबन्दीमध्ये ८१५ जनशक्ति अपुग रहेको छ। १२९ प्रहरी कार्यालयमध्ये १४ वटामात्र आफ्नो भवन र जग्गा भएको, बाँकी सरकारी वा भाडाका भवनमा सञ्चालन भइरहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

प्रविधि र नागरिकमैत्री सेवामा जोड दिँदै ‘मेट्रो १०० एप्स’ मार्फत आएको ४२ प्रतिशत घटनामा ५ मिनेटभित्र प्रहरी पुगेको, ‘डिजिटल इन्ट्री सिस्टम’, ‘पुलिस डिजिटल डायरी’, ‘खोजतलास समन्वय शाखा’ जस्ता प्रयास सुरु गरिएको छ।

‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत २ हजार ५२२ कार्यक्रम सञ्चालन गरी १ लाख ९२ हजारभन्दा बढी नागरिकसम्म पुगिएको छ। साथै, मोटरसाइकल वर्कसप, मोबाइल पसल, राइड–सेयरिङ कम्पनी लगायत सरोकारवालासँग नियमित अन्तरक्रिया गरी अपराध रोकथाममा सहयोग लिइएको छ।

प्रहरीले आफ्नो समीक्षामा बढ्दो वित्तीय र साइबर अपराध नियन्त्रण गर्न थप स्रोत, साधन र विशेष दक्षता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय