
रौतहट — नेपाल–भारतसँग सिमा जोडिएका रौतहटका विभिन्न नाकामा तस्करी र भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती बढाएसँगै गत आर्थिक वर्षमा पाँच करोड ७४ लाख रुपैयाँ मूल्यका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार भन्सार छलेर ल्याइएका सामानहरू बरामद गरी भन्सार कार्यालय बुझाइएको हो। दक्षिणी सीमानाकामा पाँचवटा बोर्डर आउटपोष्ट (BOP) र आठवटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता बढाएको उनले बताए।

गत आवमा सशस्त्र प्रहरीले दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्यका अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस बरामद गरेको थियो। साथै, एक–एक थान स्कर्पियो र सफारी गाडी, बोलेरो, म्याजिक, अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, स्रोत नखुलेको ४८ लाख १७ हजार ११० रुपैयाँ र ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। सशस्त्रले ६९३ क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालय रौतहटमा बुझाएको जनाएको छ।
सोही अवधिमा पाँच लाख ५१ हजार ८२५ मूल्य बराबरका ४०६ कार्टुन मदिरा, ८५० किलो माछा, १,२४९ किलो बोइलर कुखुरा, १६ वटा गाई–भैंसी तथा पाडापाडी, र चार लाख ३ हजार ५६ मूल्यका पटका समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।



