भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी हवल्दार भरत बस्नेत बहुविवाह मुद्दामा फरार भएका छन्। रामेछाप जिल्ला, लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थायी ठेगाना भएका बस्नेतले पोखरा निवासी मिना बानियाँसँग दोस्रो विवाह गरेका हुन्, भन्ने आरोप उनकी पहिलो श्रीमती सावित्री बस्नेतले लगाएकी छन्।

सावित्री बस्नेतले भक्तपुर प्रहरी परिसरमा उजुरी दिएपछि बस्नेत र मिना दुवैजना हालसम्म फरार रहेका छन्। उजुरी दर्ता भएको १७ दिन बितिसक्दा पनि उनीहरूको अत्तोपत्तो छैन। भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ।

परिवारका सदस्यहरूको भनाइअनुसार, प्रहरी हवल्दार बस्नेत मुद्दाको जानकारी पाएलगत्तै ड्युटीमै रहँदा, युनिफर्मसहित फरार भएका थिए। तर प्रहरी प्रशासनले भने खोजी कार्य जारी रहेको भन्दै आश्वासन मात्र दिइरहेको परिवारको गुनासो छ।

बहुविवाहजस्तो गम्भीर अपराधमा संलग्न एक जना सेवा निवृत्त नभएको प्रहरी स्वयं फरार भएपछि प्रहरी प्रशासनको जिम्मेवारीप्रति पनि प्रश्न उठ्न थालेको छ। पीडित पक्षले निष्पक्ष अनुसन्धान र यथाशीघ्र कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय