
काठमाण्डौं: भारत हुँदै नेपालमा अवैध रूपमा साना हतियार तस्करी गर्दै आएका एक प्रमुख नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको विशेष ब्युरो को टोलीले दुई दिनअघि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
ब्युरो स्रोतका अनुसार, लामो समयदेखि खोजी सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई सुरक्षा निकायले ठुलो सफलता मानेको छ।

“नेपालमा साना हतियारको अवैध कारोबारमा संलग्न मुख्य नाइकेमध्येका एक हुन् उनी,” स्रोतले भन्यो, “पक्राउका क्रममा हतियार भने फेला परेको छैन, तर तस्करीसँग सम्बन्धित अन्य महत्वपूर्ण प्रमाणहरू बरामद भएका छन्।”
पक्राउ परेका भारतीय नागरिकमाथि हाल विस्तृत अनुसन्धान जारी रहेको छ। प्रारम्भिक बयानका आधारमा केही नेपाली नागरिकको संलग्नता समेत खुल्ने सम्भावना ब्युरोले जनाएको छ।
अनुसन्धानको क्रममा ती व्यक्तिले भारतसँग सीमा जोडिएका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म अवैध साना हतियार आपूर्ति गर्दै आएको स्वीकार गरेका छन्। प्रहरीको भनाइअनुसार, ती हतियारहरू आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई लक्षित गरी तस्करी गरिन्थ्यो।



