
नवलपुर— नवलपुरमा पछिल्ला दिनहरूमा चोरीका घटना क्रमशः बढ्दै गएका छन्। साउन १२ गते गैँडाकोट–९ थुम्सीकी कल्पना देवकोटाको घरमा कोही नभएको मौका छोपी घरको दराज फुटाई तीन तोला सुन, चाँदीका गहना, तिलहरी, पाउजु, औंठीलगायतका गरगहना चोरी भएको छ।
यसअघि साउन १ गते गैँडाकोट–१ विकासचोकस्थित सरिता पौडेलको घरमा खुकुरीसहित आएका तीन जनाको समूहले राति २ बजे पसेर पाँच तोला सुन लुटेर फरार भएका थिए।

यस्तै, असार ३० गते मध्यविन्दु नगरपालिका–८ को गोसाइबाबा मन्दिर परिसरबाट दानपेटिकामा रहेको झण्डै ७ हजार रुपैयाँ चोरी भएको थियो। गर्मी बिदाको समयमा जनकल्याण मावि, रिठेपानीबाट ३ थान कम्प्युटर समेत चोरी भएको छ।
यसरी बढ्दै गएका चोरीका घटनाप्रति जिल्ला प्रहरी कार्यालय नवलपुरले सतर्कता अपनाउँदै ठाउँ–ठाउँमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराएको छ। प्रहरी उपरीक्षक यादव ढकालका अनुसार साना चोरी, घर फोर्ने प्रयास, र चोरीको नियतले हुने घटनाहरूले बढ्दो प्रवृत्ति देखाएको छ।
प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, चोरीका घटनामा संलग्न कावासोती–१७ का २३ वर्षीय सुस्मा महतो र चोरीको सुन सस्तोमा किन्ने कावासोती–२ स्थित न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश बिसी पक्राउ परेका छन्।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा चोरीसम्बन्धी २२ मुद्दा दर्ता भएका थिए। सो अवधिमा चोरी बढी हुने क्षेत्र पहिचान गरी १६६ वटा चोरी नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको र सादा पोशाकमा गस्ती तथा पेट्रोलिङ पनि तैनाथ गरिएको प्रहरीले जनाएको छ।



