
काठमाण्डौं— अभिनेत्री मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कलायात्राका प्रेरणास्रोत गुरुहरूको सम्मानमा एक स्मरणीय कार्यक्रमको आयोजना गरेकी छन्। नेपाल पूर्व प्रहरी कलाकार संघमार्फत आयोजित उक्त कार्यक्रममा उनले नृत्य, संगीत, साहित्य र हास्यकलाका वरिष्ठ स्रष्टाहरूलाई ‘गुरु दक्षिणा सम्मान’ प्रदान गरिन्।
काठमाडौँको नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान समारोहमा मिथिला शर्माले आफ्ना गुरुहरूको नाममा स्थापना गरिएको सम्मानमार्फत प्रतिष्ठित कलाकारहरूलाई सम्मान गरिन्।

सम्मानित हुने स्रष्टाहरू:
- राजपाल थापा नृत्य साधना सम्मान २०८२ – वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ
- चेतन कार्की गीती वाङ्मय सम्मान २०८२ – साहित्यकार रमण घिमिरे
- गोपाल योञ्जन संगीत साधना सम्मान २०८२ – वरिष्ठ संगीतकार प्रकाश गुरुङ (उनको अनुपस्थितिमा छोरा रजय गुरुङले सम्मान ग्रहण गरे)
- हाडा एण्ड पाल हास्य वाङ्मय सम्मान २०८२ – वरिष्ठ कलाकार बसुन्धरा भुसाल
कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दीपक थापा, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अभिनेता हरिहर शर्मा, अभिनेत्री भूवन चन्द, चैत्यदेवी, गौरी मल्ल र स्वयं मिथिला शर्मा लगायतले सम्मान प्रदान गरेका थिए। समारोहमा प्रहरी कलाकारहरूद्वारा गीत, संगीत र नृत्यको आकर्षक प्रस्तुति पनि दिइएको थियो।
सम्बोधनमा भावुकता:
कार्यक्रममा बोल्दै अभिनेत्री मिथिला शर्माले आफू जन्मिएको ठाउँ प्रहरी क्लबमा आफ्ना गुरुहरूको नाममा सम्मान गर्न पाउँदा गहभरिएको बताइन्।
उनले भनिन्, “अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई यो गुरु पूर्णिमाको दिन गुरु दक्षिणा स्वरूप सम्मान प्रदान गर्दा गर्व महसुस गरेकी छु। चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव रत्न हाडा जस्ता व्यक्तित्वहरूको स्मृति र योगदानलाई यसमार्फत सम्झिएको छु। आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन, तर उहाँहरूको नाममा सानो योगदान गरेर जीवनभर आशीर्वाद पाउने विश्वास लिएको छु।”
प्रहरी संगठनको समर्थन:
प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल पूर्व प्रहरी कलाकार संघको यो वार्षिकोत्सव सिर्जनात्मकताको अनुपम उदाहरण भएको बताउँदै आफु कलाकार नभए पनि संगठन तथा व्यक्तिगत तर्फबाट संघलाई पूर्ण समर्थन र सहयोग गर्ने आश्वासन दिए।
सम्मानित कलाकारको तर्फबाट बोल्दै अभिनेत्री बसुन्धरा भुसालले २०२३ सालमा प्रहरी क्लबमै आफ्नो श्रीमान्सँगको भेट भएको सम्झदै भनिन्, “श्रीमान् प्रहरी कलाकार नभएको भए म अघि बढ्न सक्दिनथें होला। त्यो बेला प्रिय बाल कलाकार थिईन् मिथिला बहिनी। आज उही बहिनीको आयोजनामा प्रहरी क्लबमै सम्मान पाउँदा अत्यन्त भावुक छु।”
उनले थप भनिन्, “जोकर्नी भनेर हेपिएको अभिनय क्षेत्रले नै आज मलाई यो गहिरो सम्मान दियो। मिथिलाले कस्तो सम्मान गरिन् भने सम्मानपूर्वक त्यसमा राखिएको रकम पनि खुलाइनन्। म गुरु सम्झेर दिइएको त्यो खाम नखोली राख्नेछु।”



