मधेश —  मधेश प्रदेशका आठ जिल्लामा मुस्लिम समुदायद्वारा निकालिएको ताजिया अर्थात् दाहाको सुरक्षामा प्रदेश प्रहरीले देखाएको समर्पण र सक्रियता अत्यन्तै सराहनीय रह्यो। विगतका वर्षहरूमा महरमको समयमा विवाद, भिडभाड र हुलहुज्जतजस्ता अप्रिय घटनाहरू हुने गरे पनि यस वर्ष कुनै पनि अशान्ति नहुनाु प्रहरी प्रशासनको योजनाबद्ध तयारी र नेतृत्वदक्षताको प्रतिफल हो।

प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदी एक निडर, काबिल, अनुसन्धानमा अब्बल र भिड नियन्त्रणमा निपुण अफिसरको रूपमा प्रहरी संगठनमा परिचित छन्। मधेश प्रदेशको कमाण्ड सम्हालेयता उनले मुद्दा शाखा, अनुचित लेनदेन शाखा, अपराध अनुसन्धान शाखा तथा महिला तथा बालबालिका शाखामा उल्लेखनीय सुधार ल्याएका छन्, जसको प्रत्यक्ष प्रभाव सेवाग्राहीहरूले महसुस गर्न सकेका छन्।

यस वर्ष मधेश प्रदेशका आठै जिल्लाहरू—पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी—मा २१९ स्थानमा मुस्लिम समुदायले महरमको र्‍याली (ताजिया/दाहा) निकालेका थिए। सुरक्षाका लागि ३४८४ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्थालाई चुस्त बनाउन डिआईजी चतुर्वेदी आफैं दाहा हुनु अघिनै प्रत्येक जिल्ला पुगेर भौतिक निरीक्षण गरेका थिए र दाहाको समयमा पनि प्रत्येक मिनेटको अपडेट संचार प्रणालीमार्फत लिइरहेका थिए।

यस पटकको दाहालाई विशेष सतर्कताका साथ व्यवस्थापन गरिएको थियो। केही दिनदेखि मुस्लिम र हिन्दू समुदायबीच देखिएको मनमुटावका कारण सम्भावित विवादको चिन्ता उठाइएको थियो। केही समाजसेवी तथा विशिष्ट नागरिकले दाहाको बेला दुई समुदायबीच झडपको सम्भावना व्यक्त गरेका थिए। तर प्रदेश प्रहरीले देखाएको व्यावसायिक समर्पण र सूक्ष्म रणनीतिका कारण कुनै अप्रिय घटना हुन पाएन।

विशेषगरी वीरगन्जमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको थियो। वीरगन्जमा दाहाको दिन जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र स्वयं फिल्डमा खटिएर सुरक्षा सम्हालिरहेका थिए, जसले जनतामा थप आत्मविश्वास जगाएको थियो।

डिआईजी चतुर्वेदीले सर्वसाधारण जनताको वास्तविक समस्या पहिचान गर्दै कानुनबमोजिम तत्काल सेवा प्रदान गर्न मातहत प्रहरी इकाइलाई निर्देशन दिने गरेकाले धेरै सेवाग्राही प्रहरी कार्यालयको चक्करबाट मुक्त भएका छन्। उनका व्यावहारिक र संवेदनशील निर्णयहरूका कारण मधेश प्रदेशमा प्रहरी–जनताको सम्बन्ध सुदृढ हुँदै गएको छ।

यसरी, मधेश प्रदेशमा यसपटकको ताजिया (दाहा) कार्यक्रमको सफल, शान्तिपूर्ण र व्यवस्थित सम्पन्नता प्रदेश प्रहरीको सशक्त नेतृत्व, कुशल रणनीति र समर्पित सुरक्षा व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्न पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय