काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सम्भावित मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको छ।

वैशाख २१ गते कैलालीबाट प्राप्त जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले आसन्न मनसुनबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस तथा मनसुन प्रतिकार्य टोली परिचालन गरेको हो। मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीका अनुसार नियमित सुरक्षात्मक जिम्मेवारीका साथै विपद् उद्धारलाई केन्द्रमा राखेर यी बेसहरू स्थापना गरिएको हो।

मुख्यालयले कैलालीको धनगढी उपमहानगरपालिका र चुरे गाउँपालिका–५ खानीडाँडा गरी २ स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाउँपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँच र बैतडीको सदरमुकाम गरी कुल ८ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरिएको जनाएको छ।

सशस्त्र प्रहरीले सुदूरपश्चिम प्रदेशभर ११ जना गोताखोर र २७५ जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिलाई समेत तयारी अवस्थामा राखी जिल्लागत रूपमा परिचालन गरेको छ।

हालैका पानीजन्य विपद्का घटनामा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले दार्चुला, बझाङ, अछाम, डोटी र कञ्चनपुर जिल्लामा गोताखोर परिचालन गरी मृतकहरूको शव फेला पार्ने कार्य गरेको थियो।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले स्थानीय तहसँग समन्वय गर्दै समुदायस्तरमा विपद् स्वयंसेवक तालिम सञ्चालन गर्दै आएको छ। प्रत्येक वडा तहसम्म विपद् सूचना सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले विपद् सूचक समूहसमेत गठन गरिएको छ।

विपद् उद्धारसम्बन्धी सहयोग आवश्यक परेमा सर्वसाधारणले सशस्त्र प्रहरी बलको टोल-फ्री नम्बर १११४ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय