
काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले राष्ट्र, संगठन र जनताको अपेक्षालाई केन्द्रमा राख्दै जिम्मेवारी सम्हाल्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेलगत्तै उनले आफ्नो कार्यशैली इमानदारिता, निष्पक्षता, निष्ठा र उच्च पेशागत प्रतिबद्धतामा आधारित रहने स्पष्ट पारे। ‘राष्ट्रिय हित र संगठनको मर्यादालाई सर्वोपरि राख्दै जनविश्वास कायम गर्नु मेरो पहिलो दायित्व हुनेछ,’ उनले भने।

पौडेललाई गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै उनले महानिरीक्षक पद केवल प्रशासनिक नेतृत्व नभई राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन, शान्ति स्थापना र नागरिकको जीउधनको संरक्षणसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएको उल्लेख गरे।
उनका अनुसार सशस्त्र प्रहरी बलको नेतृत्वले स्वतन्त्रताको रक्षा, विपद् व्यवस्थापन तथा सरकारबाट प्रत्यायोजित जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। बदलिँदो जनअपेक्षा अनुसार संगठनलाई सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने दायित्व आफूले वहन गर्ने उनले बताए।
महानिरीक्षक पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई थप सुदृढ बनाउने, संगठनभित्र नीतिगत सुधार, संस्थागत सक्षमता र संरचनागत पुनर्संरचना गर्ने लक्ष्यसहित रणनीतिक कार्ययोजना तयार गरिएको जानकारी दिए।
उनले उक्त योजनाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका छन्।




