धनगढी — सशस्त्र प्रहरी बल कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीन चन्दलाई अवधि नपुग्दै काज फिर्ता गरिएको छ। कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर नाकामा कार्यरत चन्दलाई दुई महिनामै काज फिर्ता गरिएको हो।

नाकामा शान्ति सुरक्षा र अवैध तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका चन्दलाई एक्कासि गरिएको काज फिर्ताले स्थानीयवासी मात्र होइन, सशस्त्र प्रहरीकै भित्र आशंका र प्रश्न उठाएको छ।

पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्रमा दरबन्दी रहेका चन्दले खोनपुर नाकाको कमान्ड सम्हालेको छोटो अवधिमा उल्लेखनीय परिणाम देखाएका थिए। उनले दुई महिनामा मात्रै करिब १४ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएका थिए। विशेषगरी कुखुराको अवैध तस्करी रोकथामदेखि दैनिक प्रयोग हुने सामानसम्म नियन्त्रण गर्दै आएका उनले सीमावर्ती गतिविधिमा कमी ल्याएका थिए।

कैलारी गाउँपालिकाका अध्यक्ष राम समझ चौधरीका अनुसार, डिएसपी चन्द आएपछि भारतीय सीमाबाट हुँदै हुने अवैध गतिविधि घटेको थियो। “सुरक्षा मजबुत बनाउन, अपराध नियन्त्रण गर्न र जनविश्वास बढाउन उहाँले देखाउनुभएको तत्परता प्रशंसनीय थियो,” अध्यक्ष चौधरीले भने। छोटो अवधिमै जनविश्वास जित्ने अधिकारीलाई काज फिर्ता गर्नु निराशाजनक भएको उनको भनाइ छ।

स्थानीयवासीले पनि इमान्दार र परिणाममुखी अधिकृतलाई अचानक सरुवा गर्नु नैतिक तथा व्यावसायिक दृष्टिले प्रश्न उठाउने कार्य भएको बताएका छन्। उनीहरूको भनाइमा, “देशभक्त र इमान्दार अधिकारीलाई सम्मान गर्नु पर्ने बेला उल्टै काज फिर्ता गर्नुले सशस्त्र प्रहरीको नेतृत्वप्रति गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय