काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान कार्कीले कानुनको धज्जी उडाउने र समाजमा अराजकता फैलाउने जोकोही विरुद्ध प्रहरी प्रशासन कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ। प्रहरीको कार्यशैली र वर्तमान सुरक्षा चुनौतीबारे बोल्दै उहाँले नागरिकमैत्री सेवा प्रवाह नै संगठनको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

आईजीपी कार्कीले पीडितको मर्ममा खेल्दै स्वार्थ सिद्ध गर्न खोज्ने समूहहरूबाट सतर्क रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “पीडितको वरिपरि मौरी जस्तै भुनभुनाउँदै आफ्नो स्वार्थ रोटी सेक्ने समूहहरूको अन्त्य गरी वास्तविक अर्थमा नागरिकको सेवा गर्नु आजको आवश्यकता हो।”

सीमित स्रोतका बीच उच्च मनोबल प्रहरीका आधाभन्दा बढी युनिटहरूसँग आफ्नै भवन नभएको, पर्याप्त स्रोत-साधन र कानुनको अभाव रहेको उल्लेख गर्दै आईजीपी कार्कीले यस्तो विषम परिस्थितिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरिरहेको दाबी गर्नुभयो। सामूहिक प्रतिबद्धता र कर्मशिल प्रयासले नै समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम हुने उहाँको भनाइ थियो।

तल्लो तहसम्मै सुधारको निर्देशन मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्न आग्रह गर्नुभयो। नागरिकको साथ र समर्थनले नै प्रहरीको आत्मबल र हौसला बढ्ने उहाँको विश्वास छ।

विशेष गरी प्रहरी कार्यालयहरूमा निवेदन लेख्ने बहानामा सर्वसाधारण र सीमान्तकृत वर्गबाट रकम असुल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले कडा निर्देशन दिनुभयो। “प्रहरी कर्मचारीले आफ्नो बोलीवचन र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ,” उहाँले भन्नुभयो।

७० वर्षको गौरवपूर्ण यात्रा नेपाल प्रहरीले ७० वर्षको इतिहासमा विभिन्न राजनीतिक, सांस्कृतिक र सामाजिक संघर्षहरूलाई चिर्दै जटिल अपराधहरूको सफल अनुसन्धान गरेको स्मरण गर्दै आईजीपी कार्कीले आगामी दिनमा अझ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय