
काठमाडौं । नेपाल प्रहरीको हालैको एसपी सरुवामा अख्तियार प्रमुख प्रेमकुमार राई र एमालेको प्रभाव देखिएको छ भने संगठनभित्र पुरानै राजनीतिक प्रभावको शैली दोहोरिएको चर्चा चलेको छ।
उनले आफूनिकट र अख्तियारमै कार्यरत प्रहरी अधिकृतहरूलाई आयआर्जन हुने र प्रभावशाली जिल्लामा पठाउन सफल भएको स्रोतले जनाएको छ।

राई मात्रै होइन, यो सरुवामा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको प्रभाव स्पष्ट देखिएको बताइन्छ। राईलाई ओली सरकारले नै अख्तियार प्रमुखमा नियुक्त गरेको थियो भने प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई पनि ओली सरकारकै पालामा नियुक्त गरिएको थियो। खापुङलाई राईको निकट मानिन्छ।
बुधबार राति ४८ जना एसपीको सरुवा गर्दा १० जनालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। तीमध्ये धेरैजना अख्तियार वा एमाले निकट मानिएका अधिकृत रहेको देखिन्छ। यसक्रममा योग्यताका आधारमा अवसर पाउनुपर्ने कतिपयलाई वञ्चित गरिएको र काजमा रहेका दुई एसपीलाई स्थायी दरबन्दीमै कायम गरिएको आरोप समेत छ।
उदाहरणका लागि, पर्साका एसपी गौतम मिश्रलाई पाँच महिनामै हटाएर अख्तियारमै कार्यरत सुदीपराज पाठकलाई पठाइएको छ। त्यस्तै, मोरङ प्रहरी प्रमुखमा कवित कटवाल, कास्कीमा नवीन कार्की र बाँकेमा अंगुर जिसी खटाइएका छन्। यीमध्ये अधिकांश अख्तियार वा ओली सरकारसँग निकट पृष्ठभूमिका प्रहरी अधिकृत हुन्।
यस्तै किसिमको सरुवा डिएसपी तहमा पनि गरिएको छ। यसले प्रहरी संगठनमा फेरि पुरानै राजनीतिक प्रभाव र शक्ति समीकरण हाबी भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।



