
गुल्मी । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा गुल्मीका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मीले सीमा नाघेको छ। गाउँका चौतारी देखि सहरका चिया पसलसम्म अहिले एउटै बहस छ— “यसपालि पुरानै अनुहार दोहोरिएलान् किन नयाँले बाजी मार्लान्?” विशेष गरी क्षेत्र नम्बर १ र २ मा देखिएको त्रिपक्षीय र द्विपक्षीय भिडन्तले यसपटकको निर्वाचनलाई राष्ट्रिय चासोको केन्द्र बनाएको छ।
क्षेत्र नम्बर १: ‘हेभीवेट’ हरूलाई सागर ढकालको चुनौती

गुल्मी क्षेत्र नम्बर १ मा यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। विगतका निर्वाचनहरूमा आलोपालो जित्दै आएका नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा (एमाले) का प्रदीप ज्ञवालीका लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल मुख्य चुनौतीबनेर उभिएका छन्।
रूरू क्षेत्रका स्थानीयका अनुसार, पुराना नेताहरूलाई ‘आराम‘ दिएर युवा जोश र नयाँ भिजनभएका ढकाललाई संसद् पठाउनुपर्ने जनमत बलियो बन्दै गएको छ। ढकालले आफू १० हजारबढी मतान्तरले विजयी हुने दाबी गरिरहँदा स्थापित दलहरूलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको देखिन्छ।
क्षेत्र नम्बर २: गोकर्ण विष्ट र गोविन्द पन्थीबीच ‘टक्कर’
क्षेत्र नम्बर २ मा विगत १५ वर्षदेखि एकछत्र प्रभाव जमाउँदै आएका एमालेका प्रभावशाली नेता गोकर्ण विष्ट मैदानमा छन्। अनुभवी र सांगठनिक रूपमा बलियो विष्टलाई यसपटक रास्वपाका अधिवक्ता गोविन्द पन्थीले कडा टक्कर दिएका छन्।
यस क्षेत्रमा अन्य उम्मेदवारहरू भुवनप्रसाद श्रेष्ठ र श्रीराम महत चुनावी दौडमा भए पनि मुख्यप्रतिस्पर्धा विष्ट र पन्थीबीच नै हुने विश्लेषण गरिएको छ। पन्थीले अत्याधिक मतान्तरले जित्ने दाबी गरेका छन्।
‘अनुभव’ कि ‘परिवर्तन’? मतदाताको दुविधा र आक्रोश
लामो समय सत्ता र शक्तिमा रहेका नेताहरूले जिल्लाको विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारमा ठोस काम नगरेको भन्दै मतदाताहरूमा असन्तुष्टि चुलिएको छ।
गुल्मीका जनता के भन्छन् त …
• महेन्द्र पाण्डे (तम्घास): “पार्टीको झण्डा बोकेर मात्र भएन, अब एजेन्डा र स्पष्ट योजनाभएको नेतृत्व चाहिन्छ।“
- प्रतिभा विक (इस्मा): “हामीलाई अब नयाँ भिजन भएको युवा नेतृत्व चाहिएको छ, कतिन्जेल एउटै अनुहारलाई भोट दिने?”
‘घण्टी’ प्रतिको आकर्षण र ‘प्रवास’ को दबाब
पछिल्लो समय गुल्मीमा रास्वपाप्रति युवाहरूको आकर्षण ह्वात्तै बढेको छ। रास्वपा जिल्ला सभापति भोजराज पाण्डेका अनुसार विभिन्न वडाबाट पुराना दलहरूबाट थुप्रै युवाहरू पार्टीमा प्रवेश गरिसकेका छन्।
यसका साथै, वैदेशिक रोजगारीमा रहेका गुल्मेली युवाहरूले घरपरिवारलाई फोन गरेर‘परिवर्तनका लागि घण्टीमा भोट हाल्न‘ आग्रह गरिरहेका छन्। काठमाडौँका मेयर बालेन शाह ररवि लामिछानेको प्रभावले पनि ग्रामीण भेगका मतदातालाई नयाँ विकल्पबारे सोच्न बाध्यबनाएको छ।
चुनौतीको पहाड: पुराना दलको ‘जालो’
नयाँ शक्तिका लागि उत्साहजनक माहोल भए तापनि पुराना दलहरूको तल्लो तहसम्मको सांगठनिक सञ्जाल र अनुभवी कार्यकर्ताहरू मुख्य चुनौती हुन्। दशकौँदेखि जरा गाडेका एमालेर कांग्रेसका संरचनालाई चिरेर मत परिणाम आफ्नो पक्षमा पार्नु रास्वपाका लागि फलामकोचिउरा चपाउनु सरह हुनेछ।
गुल्मीको यो चुनावी मैदान केवल हार र जितको लडाइँ मात्र नभई ‘अनुभव‘ र ‘अपेक्षा‘ बीचकोजनमत संग्रह जस्तो देखिएको छ। मतदाताले पुरानै अनुभवी सारथि रोज्छन् या नयाँ गोरेटो कोर्ने युवालाई, त्यो त फागुन २१ को परिणामले नै बताउनेछ।



