
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको बेला रोचक दृश्य देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी र नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठबीच घरदैलो कार्यक्रमकै क्रममा आकस्मिक जम्काभेट भएको हो।
दुवै उम्मेदवार आफ्ना–आफ्ना समर्थकसहित मतदाताको घरदैलो अभियानमा व्यस्त रहेका बेला बाटोमै आमनेसामने भएका थिए। चुनावी प्रतिस्पर्धा उत्कर्षमा पुगेका बेला भएको उक्त भेटलाई स्थानीय बासिन्दाले चासोका साथ अवलोकन गरेका थिए।

भेटका क्रममा दुवै नेताबीच सौहार्दपूर्ण अभिवादन आदानप्रदान भएको थियो। समर्थकहरू पनि संयमित रूपमा प्रस्तुत भएका थिए। केहीबेरको संक्षिप्त संवादपछि दुवै उम्मेदवार आ–आफ्नो अभियानतर्फ अघि बढेका थिए।
स्थानीयले यस घटनालाई लोकतान्त्रिक संस्कारको सकारात्मक उदाहरणका रूपमा लिएका छन्। चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा भए पनि आपसी सम्मान, सहिष्णुता र सभ्य व्यवहारले नै स्वस्थ लोकतन्त्रको आधार बलियो बनाउने उनीहरूको धारणा छ।
भेटघाटकै क्रममा रास्वपा उम्मेदवार गोविन्द पन्थीले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठतर्फ संकेत गर्दै “म विजेता र हजुर उपविजेता भन्ने हल्ला छ, त्यस्तै हुनुपर्छ सर,” भन्दै ठट्टा गरेका थिए। पन्थीको उक्त अभिव्यक्तिपछि केहीबेर वातावरण हाँसोमय बनेको थियो।
दुवै नेताबीचको यो हल्का ठट्टा–मजाकले चुनावी प्रतिस्पर्धाबीच पनि सौहार्दपूर्ण सम्बन्ध रहेको सन्देश दिएको उपस्थितहरूको भनाइ थियो।
गुल्मी–२ मा यसपटकको चुनाव विशेष प्रतिस्पर्धात्मक मानिएको छ। उम्मेदवारहरू घरदैलो, कोणसभा तथा मतदाता भेटघाटलाई तीव्रता दिँदै जनताको विश्वास जित्ने प्रयासमा जुटेका छन्। प्रतिस्पर्धी उम्मेदवारबीचको प्रत्यक्ष भेटले चुनावी सरगर्मीलाई थप चासोपूर्ण बनाएको स्थानीयको भनाइ छ।




