
झापा— नेकपा एमालेका नेता तथा व्यवसायी अर्जुन मैनाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मंगलबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भेट गरेपछि मैनालीले औपचारिक रूपमा एमाले परित्याग गर्दै रास्वपामा आबद्ध भएको घोषणा गरेका हुन्। उनको प्रवेशसँगै झापामा एमालेभित्रको असन्तोष र दल परिवर्तनको क्रम थप चर्किँदै गएको संकेत देखिएको छ।
अर्जुन मैनाली उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व महासचिवसमेत हुन्। उनी लामो समयदेखि व्यवसायिक क्षेत्रसँगै एमालेको राजनीतिमा सक्रिय रहँदै आएका थिए। पार्टी परित्यागको निर्णय सार्वजनिक गर्दै मैनालीले वैकल्पिक राजनीतिको पक्षमा उभिने र परिवर्तनको अभियानमा सक्रिय रूपमा सहभागी हुने बताएका छन्।

यसअघि पनि झापामा एमाले परित्याग गरी रास्वपामा प्रवेश गर्ने क्रम देखिँदै आएको छ। एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ यसअघि नै रास्वपामा आबद्ध भइसकेका छन्। पछिल्ला दिनहरूमा एमालेका युवा तथा व्यवसायिक पृष्ठभूमिका नेताहरूको रास्वपातर्फ आकर्षण बढ्दै गएको देखिन्छ।
सोमबार झापा पुगेका बालेन्द्र शाह पार्टी विस्तार तथा युवालाई राजनीतिमा जोड्ने अभियानमा सक्रिय देखिएका छन्। झापा–५ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनी रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत हुन्। मैनालीको प्रवेशलाई रास्वपाले झापामा संगठन विस्तार र चुनावी अभियानलाई थप सशक्त बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा मूल्याङ्कन गरेको छ।



