गुल्मी । नेपाल प्रहरीमा रहँदा भिजिट भिसामार्फत हुने मानव तस्करीको जालो भत्काउनेदेखि भुटानी शरणार्थी प्रकरणजस्ता चर्चित मुद्दाको अनुसन्धानमा सक्रिय भूमिका निभाएका एक व्यावसायिक प्रहरी अधिकृत—पूर्व डीएसपी तथा हाल अधिवक्ता गोविन्द पन्थी—फेरि एकपटक राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा देखिएका छन्।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रभावकारी कारबाही गर्दै वैदेशिक रोजगारीका क्रममा पीडित बनेका युवा–युवतीका लागि ‘आशाको भरोसा’ बनेका पन्थीले आफ्नो योगदानको कदरस्वरूप अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेका छन्। प्रहरी सेवाबाट अवकाशपछि पनि उनी समाजसेवाबाट अलग रहेनन्। अधिवक्ताका रूपमा आर्थिक अभावका कारण न्यायबाट वञ्चित नागरिकहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका छन् भने गाउँ–गाउँका सामुदायिक विद्यालयहरूमा सम्भावित अपराधबाट जोगिने उपायबारे जनचेतनामूलक प्रशिक्षण सञ्चालन गर्दै सामाजिक रूपान्तरणमा सक्रिय छन्।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोधका आधारमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा लगाएको भन्दै पन्थीले लेख र अन्तरवार्तामार्फत कडा आलोचना गरेपछि उनी थप चर्चामा आएका थिए। अहिले सरकारले ती प्रायोजित मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेसँगै पन्थीले उठाउँदै आएका तर्क र चेतावनीहरू प्रमाणित भएको बुझाइ जनस्तरमा व्यापक रूपमा फैलिएको छ। सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा निरन्तर कलम चलाउँदै आएका अभियन्ताका रूपमा उनको स्पष्ट र निर्भीक धारणा जनसमर्थन बटुल्दै गएको देखिन्छ।

यही सन्दर्भमा गुल्मी क्षेत्र नम्बर २ बाट रा.स्व.पा.को तर्फबाट गोविन्द पन्थी उम्मेदवार बन्ने चर्चा सुरु भएसँगै स्थानीय राजनीतिक वातावरणमा नयाँ ऊर्जा थपिएको छ। स्थानीय मतदाताहरूको बुझाइमा हालसम्म तीन पटक निर्वाचित भइसकेका एमाले उपाध्यक्षसमेत रहेका गोकर्ण विष्टलाई कडा चुनौती दिन सक्ने क्षमतावान र विकल्पयुक्त उम्मेदवारका रूपमा पन्थीलाई हेरिन थालेको छ।

सेवा, इमान्दारिता र परिणाममुखी कामबाट परिचित पन्थी चुनावी मैदानमा उत्रिएमा दशकौँदेखि जरा गाडेर बसेको पुरानो राजनीतिक विरासत तोडिन सक्ने आशा पलाएको स्थानीयहरू बताउँछन्। सुशासन र पारदर्शितालाई नारामा मात्र होइन, व्यवहारमा उतार्ने नेतृत्वको खोजीमा रहेका मतदाताका लागि पन्थीको सम्भावित उम्मेदवारी परिवर्तनको संकेतका रूपमा बुझिन थालेको छ।

गुल्मी–२ मा देखिएको यो नयाँ राजनीतिक तरंगले आगामी निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने निश्चित देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय