काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।

शाहीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएको दाबी गरेका छन्।

‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ,’ उनले फेसबुकमा उल्लेख गरेका छन्, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन्। छि छि।’

शाहीले विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लागेको भन्दै मार्क्स, लेनिन, माओ कुन देशका हुन् भन्ने प्रश्नसमेत उठाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा विमानस्थलनजिकै योगी आदित्यनाथको फोटो प्रयोग भएपछि चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय