
काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भीमढुंगाबाट २८ वर्षीय सागर गिरी र प्रमोप्रसाद धिताललाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरू हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनराज भट्टराईले उनीहरूलाई शंकास्पद गतिविधिका आधारमा पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट दुईवटा कार, ६ वटा मोबाइल फोन तथा ३१ वटा सिमकार्ड बरामद गरेको छ। साथै उनीहरूले प्रयोग गर्दै आएको बाइनान्स एपमा ७ हजार १७५ अमेरिकी डलर बराबरको ब्यालेन्स पनि फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



