
काठमाडौँ ।काठमाडौँको मुटुमा रहेको एक अपार्टमेन्टबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको कोठा नम्बर २०६ बाट कागेश्वरी मनहरा नगरपालिका–२ का ५८ वर्षीय जीवन खड्कासहित १४ जनालाई पक्राउ गरिएको हो।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको विशेष टोलीले आइतबार राति उनीहरूलाई जुवा खेलिरहेकै अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुवाको खालबाट ३ लाख ६० हजार रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको छ। अपार्टमेन्टको कोठा भाडामा लिएर ठूलो रकमको हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि जुवा ऐन अन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।



