
काठमाण्डौं— पोखरा महानगरपालिकाका उजुरी फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका अनुसार बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकै २५ हजार रुपैयाँ घुस लिँदै गर्दा गिरीलाई पक्राउ गरिएको हो।
गिरीले महानगरकै अर्का कर्मचारीसँग “अख्तियारमा परेको उजुरी मिलाइदिन्छु” भन्दै १ लाख रुपैयाँ मागेका थिए, जसअन्तर्गत २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता राकेश पाण्डेले जानकारी दिएका छन्।

गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जिम्मेवारीमा रहेका अधिकारी हुन्। उनले अख्तियारले सोधेका प्रष्टिकरण तथा प्रश्नहरूको जवाफ महानगरपालिकाका तर्फबाट पठाउने जिम्मेवारी सम्हाल्दै आएका थिए।
महानगरपालिका कार्यालयभन्दा बाहिर निगरानीका क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि गिरीले आफू निर्दोष रहेको दाबी गर्दै यो प्रकरण आफूलाई फसाउन गरिएको षड्यन्त्र भएको बयान दिएका छन्।



