कैलाली । केपी खनाल ले एसईई उत्तीर्ण गरेका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खनालले ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । उनले कार्यक्रमलाई ‘५५ विद्यार्थी, ५५ सपना’ भन्ने शीर्षक दिएका छन् ।

सांसद खनालले निर्वाचनका क्रममा अभिभावकहरूले आफूमाथि राखेको भरोसा र अपेक्षालाई व्यवहारमा उतार्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताएका छन् । उनले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने सोचका साथ छात्रवृत्ति कार्यक्रम अघि बढाइएको उल्लेख गरेका छन् ।

उनले सार्वजनिक गरेको लिंकमार्फत इच्छुक विद्यार्थीहरूलाई आवेदन फारम भर्न आग्रह गरिएको छ । छात्रवृत्ति कार्यक्रम विशेषगरी आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई लक्षित गरिएको बताइएको छ ।

राजनीतिमा केवल भाषण र आश्वासनभन्दा माथि उठेर शिक्षामा लगानी गर्ने सांसद खनालको यो कदमलाई धेरैले उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा प्रशंसा गरेका छन् । स्थानीय स्तरमा समेत यस कार्यक्रमले विपन्न परिवारका विद्यार्थीहरूमा नयाँ आशा र उत्साह थप्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय