काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई सर्वसम्मत रूपमा सभामुखमा चयन गरेको हो। संसद्को परम्परा अनुसार सभामुख पदलाई साझा व्यक्तिको रूपमा राख्ने अभ्यासका कारण अन्य दलले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध बनेका हुन्।

सभामुख पदमा नियुक्त भएसँगै अर्याल राज्यको मर्यादा क्रममा पाँचौं स्थानमा पुगेका छन्। रास्वपाले उनलाई सदनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारीसहित सभामुखमा अघि सारेको थियो। प्रतिनिधिसभामा पर्याप्त समर्थन रहेकाले अन्य दलले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका थिए।

पार्टी स्रोतका अनुसार नयाँ सरकार गठनको क्रममा अर्यालले गृहमन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए। तर सो पदमा अन्य नेता चयन भएपछि रास्वपाले उनलाई सभामुख बनाउने निर्णय गरेको हो। सभापति रवि लामिछाने का विश्वासपात्र मानिने अर्याल पार्टी स्थापना अघिदेखि नै लामिछानेसँग निकट थिए।

अघिल्लो संसद्मा समानुपातिक सांसद बनेका अर्याल यसपटक काठमाडौं–९ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। रास्वपा सरकारमा सहभागी हुँदा उनी दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनेका थिए। लामिछाने जेलमा रहँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

धादिङको साविक मैदी गाविसमा जन्मिएका ५१ वर्षीय अर्याल लामो समय जापानमा व्यवसायमा सक्रिय थिए। पर्यटन, शिक्षा, रेमिटेन्स, सहकारी तथा वैदेशिक अध्ययन कन्सल्टेन्सी क्षेत्रमा उनको लगानी र नेतृत्व अनुभव रहेको छ।

अब सभामुखका रूपमा उनले संसद्को कार्यव्यवस्था सञ्चालन, बैठक आह्वान, संसदीय समिति गठन तथा संसद् सचिवालयका प्रशासनिक कामकाजको नेतृत्व गर्नुपर्नेछ। सभामुखले सामान्य अवस्थामा मतदान गर्न नपाउने भए पनि बराबरी मत खसेको अवस्थामा निर्णायक मत दिने अधिकार राख्छन्।

संसद्को सर्वोच्च पदमा पुगेका अर्यालले अब निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने चुनौतीसँगै आफ्नो नयाँ कार्यकाल सुरु गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय