
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न (फुली) लगाइदिने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा मन्त्री गुरुङले संगठनको गरिमा उच्च राख्न यस्तो पहल गर्ने बताउनुभएको हो ।
हालको कानूनी व्यवस्था अनुसार आईजीपीलाई गृहसचिवले फुली लगाइदिने प्रचलन छ । यसअघि अवकाशमा जाने महानिरीक्षकले नयाँ महानिरीक्षकलाई फुली लगाइदिने परम्परा रहेकोमा पछिल्लो समय गृहसचिवले लगाउने नियम कार्यान्वयनमा छ ।

निरीक्षणका क्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङ प्रहरी संगठनभित्र कुनै पनि प्रकारको राजनीतिक दबाब वा प्रभाव हुन नदिने स्पष्ट पार्नुभयो । “गृहमन्त्रीको हैसियतमा म र मेरो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट प्रहरीको व्यावसायिक काममा कुनै हस्तक्षेप हुने छैन,” उहाँले भन्नुभयो, “प्रहरी संगठनलाई बलियो र आईजीपीलाई थप शक्तिशाली बनाउन म पूर्ण रूपमा लाग्नेछु ।”
गृहमन्त्रीले प्रहरीको पोशाक र रासनका विषयमा पनि नयाँ योजना सार्वजनिक गर्नुभयो । उहाँले प्रहरीको पोशाक अब नेपालमै उत्पादन गरिने र त्यसलाई स्तरीय बनाइने जानकारी दिनुभयो । प्रहरी कर्मचारीका समस्या र गुनासो सुन्न आफू सदैव खुला रहेको बताउँदै उहाँले संगठनको वृत्ति विकासमा ध्यान दिने आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा उहाँले प्रहरीको चेन अफ कमान्ड र व्यावसायिक मर्यादालाई जोगाउन उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।



