
काठमाडौं – आन्दोलनका क्रममा केही समूहले जलाएको भवन पुनर्निर्माणको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दिएको एउटा अभिव्यक्ति अहिले प्रहरी संगठनभित्र मात्र होइन, समग्र समाजमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
‘आन्दोलनको पहिलो प्रहार प्रहरी हुने गरेको छ। प्रहरी यही समाजको सामाजिक मानिस नै हो,’ भन्ने उनको भनाइले प्रहरी–समाज सम्बन्धको यथार्थ चित्र प्रस्तुत गर्छ।

उनको थप तर्क थियो—‘सायद, सरकारको पहिलो इकाई भएका कारण पनि प्रहरी नै प्रहारमा पर्ने गरेको छ।’
यो भनाइ केवल भावनात्मक होइन, राज्य संरचनाभित्र प्रहरीको भूमिकाबारे गरिएको स्पष्ट स्वीकारोक्ति हो। प्रहरी सरकारको सुरक्षा संगठन हो, आदेश पालना उसको कर्तव्य हो। तर आदेश पालना गर्दै गर्दा आन्दोलनकारी वा विद्रोहीको पहिलो निशाना बन्नु, आलोचनाको केन्द्रमा पर्नु र कहिलेकाहीँ राजनीतिक स्वार्थको मोहरा बन्नु प्रहरीका लागि दीर्घकालीन चुनौती रहँदै आएको छ।
पछिल्लो समय यही चुनौतीका कारण नेपाल प्रहरीको सार्वजनिक साख खस्किएको यथार्थ लुकाउन सकिँदैन। आन्दोलन, बल प्रयोगका आरोप, राजनीतिक हस्तक्षेप, आन्तरिक अनुशासनहीनता र केही चर्चित घटनाले प्रहरी संगठनलाई जनविश्वासको संकटमा पुर्याएको थियो।
यही पृष्ठभूमिमा २७ कात्तिकदेखि संगठन प्रमुखका रूपमा आएका आईजी दानबहादुर कार्कीले प्रहरी संगठनभित्र नयाँ ऊर्जा भर्ने प्रयास थालेका छन्। गृह जिल्ला होस् वा दूरदराजका प्रहरी कार्यालय—उनी स्वयं पुगेर कर्तव्य, जिम्मेवारी र पेशागत आचरणबारे प्रवचन दिइरहेका छन्। यसले केवल निर्देशन मात्र होइन, नेतृत्वको उपस्थिति र चासोको अनुभूति दिलाएको देखिन्छ।
एक पूर्व आईजीको भनाइमा, ‘उहाँ एउटा असल अफिसर हो। व्यावसायिक हिसाबले संगठनलाई उठाउने आत्मविश्वास बोक्न सक्ने कमान्डर हो।’
यस्तो मूल्यांकन केवल व्यक्तिगत प्रशंसा होइन, संगठनभित्र सुधारको अपेक्षा पनि हो।
आईजी कार्कीले कार्यभार सम्हालेसँगै अनुशासन, व्यावसायिकता र मनोबललाई पहिलो प्राथमिकतामा राखेका छन्। लामो समयदेखि प्रहरी संगठनभित्र गुनासो रहँदै आएको राजनीतिक दबाब, सरुवा–बढुवामा पारदर्शिताको अभाव र फिल्डमा खटिने प्रहरीको उपेक्षालाई सम्बोधन गर्ने संकेत उनले प्रारम्भिक निर्णय र निर्देशनबाट दिएका छन्। यसले संगठनभित्र सकारात्मक सन्देश प्रवाह गरेको अनुभूति धेरै प्रहरी कर्मचारीले गरेका छन्।
विशेषगरी, फिल्डमा खटिने तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउन उनले प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। विभिन्न प्रदेश र जिल्लामा पुगेर प्रहरी जवानदेखि अधिकृतसम्मका गुनासो सुन्ने, समस्या बुझ्ने र तत्काल समाधान खोज्ने प्रयास उनका कार्यशैलीका विशेषता बनेका छन्।
‘प्रहरीको साख सुधार्न नेतृत्व मात्र होइन, संगठनका हरेक सदस्यको आत्मसम्मान बलियो हुनुपर्छ’ भन्ने उनको भनाइले प्रहरीभित्र नयाँ सोच र ऊर्जा थपेको बताइन्छ।
सार्वजनिक रूपमा प्रहरीको आलोचना बढिरहेका बेला आईजी कार्कीले जवाफदेहिता र आत्मसमीक्षालाई पनि जोड दिएका छन्। गल्ती ढाकछोप गर्ने पुरानो प्रवृत्तिबाट बाहिर निस्कँदै, गलत काम गर्ने प्रहरी कर्मचारीमाथि कारबाही र राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्ने नीति उनले अघि सारेका छन्।
प्रोत्साहन, पुरस्कार र अनुसन्धानमा तिखो चासो उनको नेतृत्वको अर्को पाटो बनेको छ। यसले संगठनभित्र ‘काम गरे पुरस्कार, गल्ती गरे कारबाही’ भन्ने सन्देश स्थापित गर्न मद्दत पुगेको विश्लेषण गरिन्छ।
प्रहरीको साख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आईजी कार्कीले समुदाय–प्रहरी सम्बन्ध मजबुत बनाउने कार्यक्रमलाई पनि गति दिएका छन्। समुदायमै पुगेर सेवा दिने, गुनासो सुन्ने, स्थानीय तहसँग सहकार्य गर्ने पहलले प्रहरीप्रतिको अविश्वास घटाउने प्रयास भइरहेको छ। केही स्थानमा देखिएका सकारात्मक प्रतिक्रियाले यो रणनीति प्रभावकारी हुनसक्ने संकेत दिएका छन्।
तर चुनौती अझै सकिएका छैनन्। राजनीतिक दबाब, स्रोत–साधनको अभाव, बढ्दो आपराधिक गतिविधि, खुला सीमा, लागुऔषध कारोबार र प्रविधिगत चुनौतीले प्रहरी संगठनलाई निरन्तर परीक्षा लिइरहेका छन्। यस्ता अवस्थामा आईजी कार्कीको नेतृत्व शैली कति दिगो र परिणाममुखी हुन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
तथापि, हालसम्म उनका कदमहरूले प्रहरी संगठनभित्र आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको देखिन्छ। ढलेको साख उठाउने र खस्किएको मनोबलमा ‘बल’ भर्ने प्रयासमा आईजी कार्की सक्रिय देखिएका छन्।
समग्रमा, यो सुधार यात्रा दीर्घकालीन रूपमा सफल हुन नेतृत्वको निरन्तरता, नीतिगत सुधार र राजनीतिक इच्छाशक्तिको सहयोग अपरिहार्य हुनेछ। यदि प्रहरी संगठनले पुनः जनविश्वास जित्न सफल भयो भने, त्यसको श्रेय धेरै हदसम्म अहिलेको नेतृत्वले सुरु गरेको यही सुधार यात्रालाई जाने निश्चित छ।




