
झापा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ।

निरीक्षणका क्रममा उहाँले कार्यालय भवन, सम्पूर्ण शाखा तथा हिरासत कक्षको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नु भयो। निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरू, साथै सीमावर्ती इलाकामा खटिएका प्रहरी अधिकृतहरूलाई आवश्यक निर्देशन दिनु भयो।
निर्देशनका क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरीको दैनिक कामकारबाहीलाई चुस्त, दुरुस्त र त्रुटिरहित बनाउँदै सेवाग्राहीको पीर–मर्कालाई प्राथमिकतामा राखी प्रविधिमैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भयो। साथै आगामी निर्वाचनलाई सुरक्षित, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो पदिय जिम्मेवारीअनुसार जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्नु भयो।
उहाँले शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले उच्च मनोबलका साथ नागरिक र राष्ट्रको हितमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो। साथै आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान तथा खुला सीमा नाका रहेको झापा जिल्लामा हुन सक्ने सीमावर्ती अपराध, चोरी–तस्करी, भन्सार छली र लागुऔषध ओसारपसार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिनु भयो। कुनै पनि प्रकारको आर्थिक प्रलोभनमा नपरी व्यवसायिक प्रहरीको भूमिका निर्वाह गर्न उहाँले विशेष जोड दिनु भयो।
सोही क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी (झापा) को समेत निरीक्षण गर्नु भएको थियो। निरीक्षण भ्रमणका अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनु भएको थियो।
निरीक्षण भ्रमणमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराईको समेत उपस्थिति रहेको थियो।




