
चितवन — पर्यटकीय क्षेत्र सौराहामा सुरक्षा कायम गर्नुपर्ने प्रहरीकै हातबाट दुई निर्दोष युवक कुटपिटमा परेका छन् । गत शनिबार राति साथीको जन्मदिनको पार्टीमा रक्सी पिएर मात्तिएका चित्रसारी प्रहरी बिटका वरिष्ठ हवल्दार जीवन महतले होटलमा काम गरेर घर फर्किँदै गरेका दुई युवामाथि रड प्रहार गरेका हुन् ।
माहौल रमाइलो गर्ने बहानामा रक्सीले मातिएका हवल्दार महतले सौराहाको सडकमा होहल्ला मच्चाउँदै हिंडिरहेका बेला होटल ‘रिभर सन रेस्टुरेन्ट’का कर्मचारी बालेश्वर चौधरी र सन्देश दाहाल मोटरसाइकलमा घर फर्किँदै थिए । अचानक हवल्दार महतले रड प्रहार गर्दा चालक चौधरी जोगिए पनि पछाडि बसेका २६ वर्षीय दाहालको अनुहारमा ठोक्किँदा उनी गम्भीर घाइते भए ।

मोटरसाइकल पल्टिँदा दाहालको शरीरमाथि नै मोटरसाइकल परेको र नाक, आँखा तथा मुखमा गहिरो चोट लागेर रगताम्य अवस्थामा उनलाई भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्याइएको थियो । आइसियुमा उपचारपछि अहिले पनि उनको अवस्था गम्भीर रहेको डाक्टरहरुले जनाएका छन् ।
घटनाको भिडियोमा सादा पोशाकमा रहेका हवल्दार महतले हातमा रड लिई झगडालु शैलीमा साथीसँग बोलाउँदै आक्रमण गरेको देखिन्छ ।
रेष्टुरेन्ट सञ्चालक नविन श्रेष्ठले आफ्ना कर्मचारीहरू झगडामा नलाग्ने र मादक पदार्थ पनि सेवन नगर्ने युवक भएको भन्दै प्रहरीकै हातबाट उनीहरू माथि हिंसा हुनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले आक्रमणमा संलग्न व्यक्ति प्रहरी वरिष्ठ हवल्दार जीवन महत नै भएको पुष्टि गरेको छ । प्रारम्भमा घटनामा संलग्नता अस्वीकार गरेका महतले अन्ततः आफूले नै निर्दोष होटल कर्मचारीलाई कुटपिट गरेको स्वीकार गरेका छन् ।
प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । उनले प्रहरी कर्मचारीले मादक पदार्थ सेवन गरी हिंसा गरेको पुष्टि भए कडाभन्दा कडा विभागीय कारबाही हुने बताए ।



