काठमाडौं — २०८२ असार महिनामा कर्तव्यपरायणता, प्रतिबद्धता र प्रभावकारी सेवा प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गर्ने दुई जना प्रहरी अधिकृतलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले “उत्कृष्ट प्रहरी” घोषणा गर्दै प्रशंसा-पत्र प्रदान गरेको छ।

फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञ राज भट्टलाई सम्मान गरिएको हो।

भट्टले अदालतको फैसलालाई समयमै कार्यान्वयन गराउँदै कानुनी प्रक्रियामा दक्षता देखाउनुका साथै पेशागत नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै उनलाई औपचारिक रूपमा कदर गरिएको हो।

त्यस्तै, प्रहरी अनुसन्धान कार्यमा उल्लेखनीय सफलता हासिल गर्दै सर्वसाधारण नागरिकमा सुरक्षा र विश्वासको अनुभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रहरी सहायक निरीक्षक सुवोध सुवेदीलाई “Police of the Month – Asar 2082” घोषणा गरिएको छ। सुवेदीले समाजमा शान्ति सुरक्षाको वातावरण निर्माणमा उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई समेत प्रशंसा-पत्र प्रदान गरिएको हो।

परिसरका अनुसार, सुवेदीको इमान्दारिता, जनउत्तरदायी कार्यशैली र कर्तव्यप्रति समर्पित भावनाले प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने काम गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई मासिक रूपमा यसरी सम्मान गर्ने परम्परा अगाडि बढाएको छ, जसले संगठनभित्र प्रतिस्पर्धात्मक भावना तथा सेवा प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय