
महोत्तरी — पछिल्ला केही महिनादेखि बर्दिबास बजार क्षेत्रमा शृंखलाबद्ध रूपमा भइरहेका मोटरसाइकल चोरीका घटनामा संलग्न एक संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले विशेष अपरेसन सञ्चालन गरी गिरोहका मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चोरी गरिएका चार थान मोटरसाइकल र चोरीमा प्रयोग हुने ‘मास्टर की’ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
चोरीका घटना बढेपछि प्रहरीले विशेष टोली खटाएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा असार १ गते चोरी गरिएको एक मोटरसाइकल बिक्रीका लागि ग्राहक खोजिँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले गिरोहको विस्तृत सञ्जाल पत्ता लगाएको हो। गिरोहका योजनाकारदेखि चोरी गरिएका सवारी साधनको बिक्रीमा संलग्न तेस्रो तहका व्यक्तिसम्मलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-३ का २६ वर्षीय पासाङ तितुङ, सर्लाही बागमती नगरपालिका-८ का २२ वर्षीय सुरेश घिसिङ, सोही नगरपालिकाका २१ वर्षीय पदम थिङ र हरिवन नगरपालिका-१० का दिल बहादुर सिङदोङ रहेका छन्। उनीहरूलाई सर्लाही र रौतहटका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार यो गिरोहले बर्दिबासलाई केन्द्र बनाएर लामो समयदेखि चोरीको गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी विकास बमले जानकारी दिए।



