काठमाण्डौं—सिरहा प्रहरीले सर्च अपरेसन सञ्चालन गर्दै लागुऔषध कारोबारी र हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। नयाँ प्रहरी प्रमुख (एसपी)को नेतृत्वमा सक्रिय भएको प्रहरी टोलीले विभिन्न स्थानबाट ७२ लाखभन्दा बढी अवैध नगदसहित पक्राउ गरेको हो।

शुक्रबार साँझ करिब ६:३० बजे लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट दुई जना दाजु–बहिनीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा लहान–२२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी २४ वर्षीया बहिनी किरण कुमारी यादव रहेका छन्। उनीहरू सवार को.५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलबाट लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूबाट प्रारम्भिक चेकजाँचमा २२.९० ग्राम प्लास्टिकसहित र २१ ग्राम प्लास्टिकबिना ब्राउन सुगर तथा नगद ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो। थप अनुसन्धानका क्रममा उनीहरूको घर खानतलासी गर्दा १८६ ग्राम प्लास्टिकसहित र १८० ग्राम प्लास्टिकबिना ब्राउन सुगर, नगद नेपाली ५४ लाख १४ हजार २८५ रुपैयाँ, भारतीय ३५ हजार ७८० रुपैयाँ, चारवटा मोबाइल र डिजिटल तराजु समेत फेला परेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो १:३० बजे बरियारपट्टि गाउँपालिका–३ स्थित चमार टोलबाट भारतबाट आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा कृष्ण कुमार यादव (२०) र निरज राय (१९) लाई ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

त्यसैगरी, शनिबार दिउँसो करिब ३:०० बजे सिरहा नगरपालिका–२, महाबिर चौक नजिक भारतको जयनगरबाट आएका संजय कारकलाई १६ लाख ३८ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको छ। उनले रकम शरीरका विभिन्न भागमा लुकाएर ल्याएका थिए।

पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय