काठमाण्डौं— मकवानपुर प्रहरीले ठुलो परिमाणको लागुऔषध ट्रामाडोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। हेटौँडा–१५, रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले बिहीबार बिहान ५,७५० पत्ता (५७,५०० क्याप्सुल) ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७, बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान (गाडी चालक) र २३ वर्षीय सुनील पटेल (सहचालक) रहेका छन्।

सिम्रौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५, रातोमाटे चेकप्वाइन्टमा रोकी चेकजाँच गर्दा गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाइएको अवस्थामा ट्रामाडोल बरामद गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त लागुऔषध हेटौँडामा वितरणको उद्देश्यले ल्याइएको खुलेको छ। पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय